दिप्रुङ चुइचुम्मा गाउँपालिकाले शुरु गर्‍यो एकीकृत घुम्ती शिबिर

Jantedhunga

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवशको अबसर पारेर जेष्ठ नागरिक लक्षित स्वास्थ्य जाँच तथा स्वास्थ्योपचार र आ.व. २०८०/८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने गरि एकीकृत घुम्ती शिविर संचालन गरेको छ।

यस अघि पनि दिप्रुङ चुइचुम्मा गाउँपालिकामा बैंकको सहकार्यमा सामाजिक सुरक्षा भत्ता बितरण र योजना सम्झौता लगाएतको काम वडा तथा टोलमै पुगेर गर्दै आएको थियो। २०८० असोज १४ गते वडा नं. ७ टेम्मामा जनप्रतिनिधी, कर्मचारी, हेल्लो डाक्टर टिमको उपस्थितिमा एकीकृत शिवर सम्पन्न भएको छ। बर्षादको समयमा टोल तथा वडामै सामाजिक सुरक्षा भत्ता र स्वास्थ्योपचार पाउँदा अत्यन्त हर्षिद भएको भन्दै लाभग्राही बृद्दा, वृद्धहरुले खुसी ब्यक्त गर्नु भयो।

संघियताको मर्म र नागरिकका समस्यालाई मध्य नजर गर्दै आफू निर्वाचित भएपश्चात वडा तथा टोलसम्म पुग्ने गरि यस्तो कार्यक्रम बिगतदेखी संचालन गरिरहेको र भबिष्यमा समेत निरन्तरता दिने गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनु भयो।

वडा नं. ७ टेम्माबाट संचालन भएको एकीकृत घुम्ती शिविर अब क्रमश असोज १५ गते वडा नं. ६ छितापोखरी, १६ गते वडा नं. ५ स. छितापोखरी, १७ गते वडा नं. ४ बतासे, १८ गते वडा नं. ३ छोरम्बु, १९ गते वडा नं. १ याम्खा र २१ गते वडा नं. २ डाँडागाउँ ओख्रेमा संचालन गरिने हेल्लो डाक्टर कार्यक्रमका टिम लिडर सुरेश प्रधानले जानकारी दिनु भयो।

Jantedhunga
प्रतिक्रिया